काठमाण्डु- एमालेबाट निस्कासित डा. भीम रावलको पक्षमा लागेका दुई नेतालाई एमालेले दुई नेतालाई पार्टीबाटै निष्कासन गर्न सिफारिस गरेको छ ।
सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न जिल्ला कमिटी कैलालीले केन्द्रलाई सिफारिस गरेको हो ।
पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज र जिल्ला सदस्य भिष्मराजलाई पार्टीको संगठित सदस्यसमेत नहरने गरि निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको एमाले कैलालीले जनाएको छ ।
पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरेका सुवेदीद्वय बाबुछोरा हुन् । उनीहरू दुवै जना एमालेबाट निकालिएका नेता भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको जिल्ला कमिटिले जनाएको छ ।
एमाले कैलालीका सचिव ममताप्रसाद चौधरीका अनुसार एमालेबाट कारबाहीमा परेका रावलको स्वागतमा धनगढी विमानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको विषय उठेको र त्यसप्रति खेद प्रस्तावसमेत पारित गरिएको छ ।
एमालेमा रावल निकट मानिएका उनीहरू रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएका छन् । रावल हाल मातृभूमि जागरण अभियान सञ्चालन गर्दै जिल्ला दौडाहमा छन् ।
४ माघमा रावल सुदूरपश्चिम आउँदा धनगढी विमानस्थलमा अध्यक्ष ओलीविरुद्ध नाराबाजी भएको थियो ।




प्रतिक्रिया