एमालेको विधान संशोधन प्रस्ताव सर्वसम्मत स्वीकृत

एमालेको विधान संशोधन प्रस्ताव सर्वसम्मत स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको २ दिनसम्म चलेको पोलिटब्युरो बैठकले सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

पार्टी महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै निर्णय सार्वजनिक गरेका छन् ।

पोखरेलका अनुसार अब प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा औपचारिक छलफलका लागि प्रस्तुत गरिनेछ । बैठकले पार्टीलाई थप एकताबद्ध बनाउँदै अघि बढाउने संकल्प समेत गरेको छ । 

‘पोलिटब्युरो बैठकले सचिवालयवाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकार गरेको छ, अब प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछ, आजको बैठकले पार्टीलाई एकतावद्ध रूपमा अघि बढाउने संकल्प समेत गरेको छ,’ उनले लेखेका छन् ।

२ दिनसम्म चलेको पोलिटब्युरो बैठकमा ७० वर्ष उमेर हद, २ कार्यकालको सीमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेश लगायतका विषयमा गहन छलफल भएको थियो । बैठकमा करीब ७० नेताहरूले धारणा राखेका थिए ।

पार्टीले आगामी भदौ महिनामा विधान महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ । पोलिटब्युरोबाट संशोधन प्रस्ताव सर्वसम्मत पारित भएसँगै अब त्यसले केन्द्रीय कमिटी र अन्तत: विधान महाधिवेशनसम्म पुग्ने आधार तय गरेको छ ।

विधान संशोधन प्रस्तावमा स्थायी कमिटीको संख्या विस्तार, उमेर र कार्यकालको सन्दर्भमा स्पष्ट व्यवस्था, गुटबन्दी नियन्त्रण र पार्टी संगठनलाई सुदृढ बनाउने विविध बुँदाहरू समेटिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा पार्टीमा अनुशासन र सामूहिक नेतृत्व सुदृढ गर्ने पक्षमा बल दिनुपर्ने धारणा राखेका थिए । पोखरेलले संशोधन प्रस्तावमा देखिएको सर्वसम्मतिलाई पार्टी एकताको सकारात्मक संकेतको रूपमा व्याख्या गरेका छन् ।

अब एमालेमा ७० वर्षको उमेर हद हटेको छ भने २ कार्यकालको बन्देज पनि हट्नेतिर गएको छ ।