काठमाण्डु– नेकपा एमालेले नेकपा माओवादी केन्द्र मुलुकको राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट बाहिरिइसकेको निष्कर्ष निकालेको छ ।
गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा माओवादीको जनवादी अधिनायकत्वको एकदलीय सोच उहिल्यै असफल भइसकेको उल्लेख छ ।
‘प्रचण्डपथलाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि आज माओवादी ट्याग पनि भारती भएको छ,’ दस्तावेजमा भनिएको छ, ‘शान्ति प्रक्रियामा आइसकेपछि अगाडि सारिएका सत्ता कब्जा, सेनामा समूहगत समायोजन, जातीय राज्य लगायत माओवादीका प्रायः सबै प्रयोग असफल भएका छन् ।’
एमालेले माओवादी केन्द्र अस्थिरता, अवसरवाद एवं विभाजनकारी सोच र भ्रष्ट व्यवहारले वैचारिक, सांगठनिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको निष्कर्ष निकालेको छ ।
यस्तै एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नाटकरीय ढंगले राजनीतिक रङ्गमञ्चमा उदाएको पार्टीको संज्ञा दिएको छ ।
ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू गत निर्वाचनबाट नाटकीय ढंगले राजनीतिक रंगमञ्चमा उदाए’ भनिएको छ ।
‘विशेष गरेर नेकपाको विभाजन, जनादेशबाट सरकार चलाइरहेको एमालेलाई परमादेशबाट गरिएको विस्थापन, त्यसपछिका नीतिहिन गठबन्धन र त्यसले सिर्जना गरेका राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरिरहेको थियो,’ अगाडि भनिएको छ, ‘समाजको यही मनोविज्ञानलाई पपुलिस्टहरूले राम्रैसँग दुरुपयोग गरे ।’




प्रतिक्रिया