एमालेको विधान महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा के–के भयो ?

एमालेको विधान महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा के–के भयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नेकपा एमालेको विधान महाविधेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा समूहगत छलफल गरिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी दोस्रो महाधिवेशनमा शनिबार प्रस्तुत गरिएका ७ वटा प्रतिवेदनमाथि समूहगत छलफल सकिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

महाधिवेशनमा सहभागी प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० वटा समूहमा विभाजन गरी छलफल गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै छलफल गरेका छन् । उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना तथा केन्द्रीय निकायले प्रतिवेदनमाथि छलफल गरेका जनाइएको छ ।

प्रमुख गौतमले आईतबार बिहान ८ बजेबाट सुरु हुने बन्दसत्रमा समूहका टोली नेताले आ–आफ्नो समूहका तर्फबाट प्रतिवेदनमाथि सुझाव दिने कार्यक्रम रहेको जानकारी गराए । उनले भने, ‘त्यसरी आएका सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । भोलि नै समसामयिक प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न हुनेछ ।’

महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए । केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प: समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरिका २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी २ हजार ३४१ जनाको सहभागिता छ ।