काठमाण्डु – जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएको नेकपा एमालेले महाधिवेशनको तयारी थालेको छ ।
शुक्रबारको पार्टी सचिवालय बैठकमा नेतृत्व पुस्तान्तरण, पुनर्गठन र महाधिवेशनको तयारीबारे प्रारम्भिक छलफल गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार शनिबार बस्ने बैठकमा महाधिवेशन प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गरिनेछ ।
सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्ञवालीले जेनजी पुस्ताले उठाएका मागहरू स्वाभाविक र सकारात्मक भएको बताए । तर आन्दोलनमा घुसपैठ भई हिंसा मच्चाएर देशको इतिहास मेट्ने प्रयास गरेको भन्दै उनले त्यसको सत्यतथ्य छानबिन गर्न माग गरे ।
उनले भने, ‘जेनजीले भदौ २३ गते राखेका आवाज स्वाभाविक थिए । उनीहरूले आन्दोलन शान्तिपूर्ण राख्ने बताएका थिए । तर घुसपैठियाले हिंसा गराए, त्यसको छानबिन आवश्यक छ ।’
ज्ञवालीले सरकार दलहरूमाथि रोक लगाएर मूठभेड निम्त्याउने प्रयासमा रहेको आरोप पनि लगाए । सरकारले निर्वाचन तयारीभन्दा नेताहरूमाथि प्रतिबन्ध लगाउने र प्रहरी हत्या तथा लुटपाटका आरोपमा पक्राउ परेकाहरूलाई गृहमन्त्रीको आदेशले रिहा गरिएकोमा एमालेको आपत्ति छ ।




प्रतिक्रिया