काठमाण्डु – नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन पछि पहिलो पटक एमालेले सचिवालय बैठक बोलाएको हो । बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुनेछ । त्यसबाहेक सचिवालय बैठकमा मंसिर ६ गते काठमाण्डुमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुनेछ ।
सचिवालय बैठकमा शनिबार काठमाण्डुमा गर्ने भनिएको वृहत प्रदर्शन र सभाका विषयमा पनि छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मङ्सिर १० गतेसम्म तोकेको समयमा दल दर्ता गर्छ गर्दैन भन्ने चासो रहेको छ ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाण्डुमा गर्दैछ । महाधिवेशनका लागि एमालेले मंसिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दै छ ।




प्रतिक्रिया