काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको विषयमा साना ठुला सबै दल सहभागि हने निर्णय गरिसक्दा विघटित संसदको दोस्रो ठुला दल नेकपा (एमाले)ले स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।
निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा १२० राजनीतिक दलहरूले दल दर्ताको आवेदन दिएका छन् । ती मध्ये एमाले पनि एक हो ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका पुराना तथा नयाँ प्रायः सबै राजनीतिक दलहरूले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । उनीहरूले निर्वाचनका लागि अनुकूल वातावरण निर्माण गर्न, कानुन–व्यवस्था कायम राख्न तथा प्रचार–प्रसार र मतदान सुरक्षित ढंगले सम्पन्न गराउने वातावरणको प्रत्याभूति दिन सरकारसँग आग्रह गरिरहेका छन् ।
जेन जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दी तथा सुरक्षा निकायबाट लुटिएका हतियारहरू निर्वाचन सुरक्षाका दृष्टिले ठूलो चुनौतीका रूपमा हेरिएकामा पनि ती दलहरूले चासो राख्दै आएका छन् ।
देशका विभिन्न भागका कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार भएका थिए र ठूलो संख्यामा हतियार लुटिएका थिए ।
गृहमन्त्री ओमप्रकाश आर्यालले जेन–जी आन्दोलनका बेला कारागार तथा थुनुवा केन्द्रबाट फरार भएका १४,५५४ कैदीबन्दीमध्ये ९,६९७ जनालाई पुनः नियन्त्रणमा ल्याइसकेको जानकारी राष्ट्रिय सभाका सांसदहरूलाई दिएका थिए ।
गृहमन्त्री आर्यालले ७२३ थान हतियार बरामद गरिएको जानकारी दिए पनि सुरक्षाको कारण देखाउँदै आन्दोलनका क्रममा लुटिएका हतियारको कुल संख्या सार्वजनिक गर्न अस्वीकार गरे ।
शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा पनि विभिन्न दलका नेताहरूले फरार कैदीबन्दी र हराइरहेका हतियारहरू निर्वाचनमा दुरुपयोग हुन सक्ने आशंका व्यक्त गरे । बैठकमा प्रायः सबै दलका नेताहरूले निर्वाचन सुरक्षाबारे चिन्ता व्यक्त गर्दै मतदान सुरक्षाबारे पूर्ण विश्वास नरहेको बताएका थिए ।
‘हामी सरकार र उसका निकायलाई मान्यता दिन्छौँ तर दलहरूलाई चुनौती दिने र सरकारको कुरा नसुन्ने नेतृत्वविहीन समूहहरूलाई मान्यता दिँदैनौँ । लगातार धम्की सहन सकिँदैन’, बैठकमा कांग्रेस महामन्त्री गगन थापाले भने ।
थापाले वर्तमान सरकार गठन र प्रतिनिधि सभा विघटनलाई कांग्रेसले असंवैधानिक ठान्ने बताए पनि उनले सभा पुनःस्थापनाको पक्षमा कांग्रेस नरहेको र निर्वाचनमा सहभागी हुन तयार रहेको स्पष्ट पारे ।
तर एमालेले भने फागुन २१ मा हुने भनिएको निर्वाचनमा औपचारिक रूपमा सहभागी हुने निर्णय गरिसकेको छैन । पार्टीका वरिष्ठ नेताहरूका निर्वाचनसम्बन्धी अभिव्यक्तिले मतदातालाई अन्योलमा पारेका छन् ।
एमालेका कतिपय नेताहरूले भने निर्वाचन जुनसुकै मितिमा भए पनि पार्टीले तयारीमा जुटिसकेको बताउँछन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि फेरि एमाले नै सत्तामा फर्किने दाबी गर्दै आफूहरूजस्ता पुराना दललाई हल्का रूपमा नलिन चेतावनी दिए ।
‘फागुन २१ मा चुनाव हुँदैन भन्ने हामीलाई थाहा छ,’ ओलीले भने, ‘तर चुनाव जति बेला भए पनि आउने सरकार एमालेकै हुनेछ ।’ उनले प्रतिनिधि सभा निर्वाचन हुने अवस्था नरहे पनि एमाले शान्तिपूर्ण र निष्पक्ष निर्वाचनको प्रतीक्षामा रहेको बताए ।
उनकै धारणा दोहो¥याउँदै शुक्रबारको सर्वदलीय बैठकमा एमाले महासचिव शंकर पोखरेलले पनि फागुन २१मा निर्वाचन हुने सम्भावना नरहेको बताए ।
‘अनुकूल निर्वाचन वातावरण छैन र चुनाव हुनेमा हामी विश्वस्त छैनौँ,’ पोखरेलले बालुवाटारमा भएको सर्वपक्षीय बैठकमा भने, ‘हुनै नसक्ने चुनावमाथि किन बहस गर्ने ?’
यद्यपि एमालेका केही नेताहरूले भने पार्टीले निर्वाचनबारे दुईधारे रणनीति अपनाएको बताउँछन् । ।
‘हामीले निर्वाचन तयारी थालेका छौँ तर विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट पनि दायर गरेका छौँ,’ उनले भने, ‘यो ‘क्यारेट एन्ड स्टिक’ नीति हो ।’ यो नीतिमा आनन्द र डर प्रयोग गरेर मानिसलाई फकाउने गरिन्छ ।
केन्द्रीय कमिटि सदस्य विष्णु रिजालले भने निर्वाचन नचाहने मुख्य रूपमा कांग्रेस भएको दाबी गरे । कांग्रेसको महाधिवेशनको अन्योलकै कारण चुनावको भविष्य निर्भर हुने उनको भनाइ छ ।




प्रतिक्रिया