काठमाण्डु – नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुर सल्लाघारीको खुला चौरमा हुनेछ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सबै तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए ।।
उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा दुई सय भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ । महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतका विभिन्न १६ वटा पार्टीका अध्यक्ष एवम् प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।
लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्त्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ । टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन राखिएका छन् ।
तीन किलोमिटर परसम्म सुन्न सकिने एक सय १५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवम् विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको एमालेले जनाएको छ ।
महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको छ । महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ ।
पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा शुरूमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ ।
महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने गाडीका लागि कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने गाडीका लागि जगातीको भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको छ ।




प्रतिक्रिया