काठमाण्डु – नेकपा (एमाले)ले पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनयन गरेको छ । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जनाको नाम पार्टीले सार्वजनिक गरेको हो ।
शुक्रबार बसेको पार्टी सचिवालय बैठकबाट मनोनीत प्रतिनिधिको टुंगो लगाइएको एमालेले जनाएको छ ।
महाधिवेशनका लागि २ हजार १५४ जना निर्वाचित भएर आएका छन् । १०८ मनोनीत भएपछि प्रतिनिधि संख्या २ हजार २ सय ६२ जना पुगेको छ ।
यसबीच महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको बिषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति जनाएका छन् ।
पोखरेल निकट एक नेताका अनुसार सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरू कमरेड केपी ओली र पोखरेलले शनिबार बिहान टुंगो लगाउने सहमति भएको थियो ।
तर उक्त सहमति विपरित संस्थापन पक्षले एकलौटी ढंगले सूची प्रकाशित गरिएको जनाउँदै पोखरेलले आपत्ति व्यक्त गरेको ती नेताले बताए ।
शुक्रबार अध्यक्ष ओलीले प्रस्तुत गरेको नामको सूची नै एमालेले शनिबार प्रकाशित गरेको हो । पोखरेलले पनि शुक्रबारको बैठकमा आफ्नो समूहको तर्फबाट अलग सूची प्रस्तुत गरेका थिए । ‘ती दुबै सूचीमा शनिबार सहमति खोज्ने निर्णय भएको हो । तर अध्यक्षले एकलौटी तरिकाले आफ्नो पक्षको मात्र सूची प्रकाशित गरेका हुन्’, उनले भने ।









प्रतिक्रिया