एमाले महाधिवेशन : बन्द सत्र आजदेखि, नयाँ नेतृत्व चयन हुने

एमाले महाधिवेशन : बन्द सत्र आजदेखि, नयाँ नेतृत्व चयन हुने

अध्यक्षमा ओली र पोखरेलको प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)को ११औं महाधिवेशनको बन्द सत्र आइतबार हुन्दैछ ।

महाधिवेशनको औपचारिक उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा भएको थियो ।

आइतबार बिहान ८ बजेदेखि काठमाण्डुको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । बन्द सत्र सोमबारसम्म चल्ने छ ।

बन्दसत्र सञ्चालनका लागि एमालेले विगतको अभ्यासभन्दा फरक विधि अपनाएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सिंगो सचिवालयले नै अध्यक्ष मण्डलको काम गर्ने र बन्दसत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न आवश्यक कार्यक्रमहरू तर्जुमा गर्ने जनाएका छन् ।

गत भदौमा सम्पन्न विधान महाधिवेशनमै राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रस्तावमा छलफल भइसकेकाले चालु महाधिवेशनको बन्दसत्रमा कुनै नीतिगत प्रस्ताव पेश हुने छैनन् । बन्दसत्र नयाँ नेतृत्वको चयनमा केन्द्रित हुनेछ ।

बन्दसत्रबाट पारित गर्नुपर्ने विशेष प्रस्तावहरूको तयारीका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्वमा समिति बनाइएको छ ।

बन्दसत्रका निर्णयहरूलाई माइन्यूटिङ गर्नका लागि अर्का उपमहासचिव पृथ्बीसुब्बा गुरुङको संयोजकत्वमा समिति बनाइएको छ ।

महाधिवेशनले दोस्रो राष्ट्रिय विधान महाधिवेशनले पारित गरेअनुसार १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । नेतृत्व चयनका लागि विद्युतीय मतदानको व्यवस्था गरिएको छ ।

अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली नै दोहोरिन चाहेका छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारी गरेका छन् । अध्यक्ष पदमा सहमति बन्ने सम्भावना कम रहेकाले ओली र पोखरेलको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बन्ने बताइएको छ ।

२ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदै छन् ।

एमालेमा अहिले अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । जसअनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन् ।