एमालेको महाधिवेशनमा नेतृत्व चयनको मतदान भोलि बिहानसम्म सर्‍यो

एमालेको महाधिवेशनमा नेतृत्व चयनको मतदान भोलि बिहानसम्म सर्‍यो


काठमाण्डु – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचन प्रक्रियाअन्तर्गत मतदान कार्य भोलि बुधबार बिहानसम्म सरेको छ ।

मंगलबार राति नै मतदान हुने कार्यतालिका सार्वजनिक गरिएको भए पनि अन्तिम समयमा आएर मतदान कार्य स्थगित भएको हो ।

अब बुधबार बिहान ८ बजेदेखि मतदान हुनेछ । महासचिव शंकर पोखरेलले प्राविधिक कारण र चिसो मौसमलाई मध्यनजर गर्दै मतदान बुधबार बिहानसम्मका लागि सारिएको जानकारी दिए ।

विद्युतीय मतदानका लागि आवश्यक प्राविधिक तयारी समयमै पूरा हुन नसक्दा प्रक्रिया ढिलो भएको उनले बताए । उनले भने, ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन । चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतीक्षा गर्न सक्ने अवस्थामा छैनौं, त्यसैले आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’

यसअघि कार्यतालिका अनुसार बिहान १२ बजेबाट मतदान सुरु हुने भनिएको भए पनि साँझ ७ बजेसम्म सारिएको थियो ।

निर्वाचन प्रक्रिया स्थगित भएपछि अहिले प्रतिनिधिहरू मतदानस्थलबाट फर्किन थालेका छन् ।