काठमाण्डु – नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराएको छ ।
मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरूले पार्टीका नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा र्यालीसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको जानकारी गराएको छ ।
अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ बाट दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
यसपालि नेकपा एमालेले अगाडि सारेको सिंगो उम्मेदवार संख्यामध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेका छन् । मधेश र सुदूरपश्चिममा ५०/५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेदवार नयाँ छन् ।
सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत छन् । बागमती र गण्डकीमा यो संख्या क्रमश: ६०.६० प्रतिशत र ६१.११ प्रतिशत रहेको छ ।
नेकपा एमालेले यस निर्वाचनलाई हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमन विरूद्धको जनमत संग्रहका रूपमा लिएको हुँदा आजको दिनलाई विशेष दिनका रूपमा लिएको छ ।
यसै सन्देशका साथ अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउनुअघि जेनजी आन्दोलनका नाममा विध्वंशकारीहरूबाट जलाइएका झापाका सरकारी तथा व्यक्तिगत घरलगायत भौतिक संरचनाहरूको निरीक्षण र पीडितहरूसँग भेट गरेर आफ्नो निर्वाचन अभियान आरम्भ गरेका छन् ।
निर्वाचनमा पार्टीका उपाध्यक्षहरू गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट, पृथ्वीसुब्बा गुरुङ लमजुङ र विष्णुप्रसाद पौडेल रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।
महासचिव शंकर पोखरेलले दाङको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका छन् भने उपमहासचिवहरू लेखराज भट्ट कैलाली क्षेत्र नम्बर ४ र रघुवीर महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका छन् ।
त्यसैगरी सचिवहरू भानुभक्त ढकाल तेहथुम, शेरधन राई भोजपुर, डा. राजन भट्टराई काठमाण्डु क्षेत्र नम्बर ४ र महेश बस्नेतले भक्तपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका छन् । पार्टीका नेता ईश्वर पोखरेल काठमाण्डु क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् ।
नेकपा एमालेले यस निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा मात्रै नहेर्न आम मतदातासँग अपिल र अनुरोध गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानूनी शासन, मानवअधिकारको संरक्षण र प्रवर्द्धन, सामाजिक न्याय सहितको समृद्धिका लागि नेकपा एमालेको नेतृत्वमा तय भएका राष्ट्रिय लक्ष्य र आंकाक्षा हासिल गर्न नेकपा एमालेबाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मतदान गरी विजयी गराउन अपिल पनि गरेको छ ।




प्रतिक्रिया