काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन भाँड्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा शनिबार पत्रकार सम्मेलन गर्दै जारी प्रेस विज्ञप्तिमार्फत एमालेले मुलुकमा चुनाव नजिकिँदै गर्दा असुरक्षा र त्रासको वातावरण सिर्जना गरिएको दाबी गरेको हो ।
एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सरकार असफल भएको आरोप लगाएको छ । विभिन्न स्थानमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाउने तथा पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने गतिविधि तीव्र बनेको उल्लेख गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका अनुसार निर्वाचन घोषणा भएयता हजारौं कैदीबन्दी र सुरक्षा निकायका लुटिएका हातहतियार बाहिरै रहेकाले अपराधिक गतिविधि बढ्न सक्ने भन्दै यसअघि नै सरकारको ध्यानाकर्षण गराइएको थियो । पछिल्लो समय विभिन्न स्थानमा अमुक दलको नारासहित एमाले नेतृत्वविरुद्ध अभद्र व्यवहार तथा झण्डा जलाउने घटना भएको दाबी गर्दै पार्टीले यसलाई चुनावी द्वन्द्व निम्त्याउने षड्यन्त्रको संज्ञा दिएको छ ।
एमालेले आगामी निर्वाचनलाई ‘देश बनाउने र जलाउने’ बिचको जनमत संग्रहका रूपमा लिएको जनाएको छ । कथित ‘नयाँ’को नाममा भोट प्रभावित गर्ने प्रयास असफल भएपछि फेक सर्वेक्षण सार्वजनिक गर्ने, समुदायबिच द्वन्द्व सिर्जना गर्ने तथा हिंसा भड्काउने गतिविधि बढेको आरोप पनि विज्ञप्तिमा उल्लेख छ ।
रौतहटको गौरमा जारी अनिश्चितकालीन कर्फ्यूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पार्टीले यसले मतदाताको निर्भीक मतदान अधिकार प्रभावित हुने जनाएको छ । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न जिल्लामा दलका झण्डा र चुनाव चिन्ह जलाउने तथा अशान्ति फैलाउने गतिविधि गरी चुनाव भाँड्न खोजेको दाबी गरेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाप्रति निर्वाचन आयोग उदासिन देखिएको भन्दै आपत्ति जनाएको छ ।
होली पर्वको अवसरमा अमुक पार्टी र त्यसका नेताको तस्वीर तथा चिह्न अंकित टी–सर्ट वितरण गरिएको घटनालाई एमालेले आचारसंहिता उल्लंघनको उदाहरणका रूपमा उल्लेख गरेको छ । एमालेले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारसँग जोडदार माग गरेको छ ।




प्रतिक्रिया