काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दा दलीय अवस्थाको स्वरुप लगभग स्पष्ट भएको छ ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशैभरि अत्याधिक मत ल्याउँदै पहिलो दल बन्ने निश्चित भएको छ । निर्वाचनले पुराना र परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित मधेश केन्द्रित दलहरू नराम्ररी पछारिएका छन् ।
एमालेले जेनजी आन्दोलनपछि महाधिवेशन गरेको थियो । अध्यक्षमा तेस्रोपटक ओलीलाई जिताएर एमाले निर्वाचनमा होमिएको हो । तर प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेका कुनै पनि पदाधिकारी निर्वाचित हुन सकेका छैनन् ।
एमालेमा केन्द्रीय पदाधिकारीहरूको संख्या १९ छ । तर अध्यक्ष ओलीले ११ जना पदाधिकारीहरूलाई मात्र टिकट दिएका थिए । जसमध्ये सबै जना पराजित भएका छन् । जसका कारण ओलीसहित पार्टीका १० पदाधिकारीलाई यसपटक संसद्बाहिरै भएका छन् ।
निर्वाचन लड्ने पदाधिकारीहरूमा अध्यक्ष ओली झापा–५, उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ र गोकर्ण विष्ट गुल्मी–२ हुन् ।
यस्तै महासचिव शंकर पोखरेल दाङ–२, उपमहासचिवहरू रघुवीर महासेठ धनुषा–४ र लेखराज भट्ट कैलाली–४ बाट चुनावमा प्रतिस्पर्धा गरेका हुन् ।
सचिवहरू महेश बस्नेत भक्तपुर–२, शेरधन राई भोजपुर, राजन भट्टराई काठमाण्डु ं–४ र भानुभक्त ढकाल तेह्रथुमबाट निर्वाचन लड्ेका हुन् । तर उनीहरू सबै पराजित भएका छन् ।
पदाधिकारीसमेत रहेका उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याल समानुपातिकसूचीमा छन् । अर्का उपाध्यक्ष रघुजी पन्त, छविलाल विश्वकर्मा, खगराज अधिकारी निर्वाचन लडेका छैन ।
यस्तै पदाधिकारी पनि रहेका यामलाल कँडेल कर्णालीका मुख्यमन्त्री र अर्को सचिव हिक्मत कार्की कोसीका मुख्यमन्त्री भएकाले निर्वाचनमा भाग लिएका थिएनन् । प्रत्यक्ष निर्वाचन लडेका पदाधिकारीमध्ये अध्यक्ष ओली झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग लज्जास्पद ढंगले पराजित भएका छन् ।
उपाध्यक्ष पौडेल पनि रास्वपाका उम्मेदवारसँग पराजित भएका छन् । उपाध्यक्ष विष्ट गुल्मी–२ बाट झिनो मतले पराजित भएका हुन् ।
उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल र उपमहासचिव महासेठ पराजय भोगेका छन् । सचिव भट्टराई काठमाण्डु–४ बाट, बस्नेत भक्तपुर–२ बाट र र ढकाल तेह्रथुमबाट पराजित भएका छन् । उपमहासचिवद्वय भट्ट र भट्टराई यसपटक टिकट नै पाएननन् ।
एमालेका धेरैजसो पदाधिकारीहरूलाई रास्वपाका उम्मेदवारले पराजित गरेका छन् । एमालेको किल्ला मानिएको कास्की–२ पनि एमालेले साख जोगाउन असफल रह्यो । यसअघि झापामा ३ ठाउँ जित निकालेको एमालेले यसपल्ट शून्य भयो भने मोरङका ६ क्षेत्रमै एमाले पराजित भयो ।
२०४६ सालको आन्दोलनपछि शक्तिका रूपमा उदाएको एमालेले २०४८ (२०५ मध्ये ६९) मा दोस्रो, २०५१ (२०५ मध्ये ८८) मा पहिलो, २०५६ मा (२०५ मध्ये ७१) दोस्रो, २०६४ मा ६०१ सिटमा (प्रत्यक्षमा ३३ र समानुपातिक ७० गरी १०३) तेस्रो, २०७० मा ६०१ (प्रत्यक्षमा ९१ र समानुपातिक ८४ गरी १७५) दोस्रो, संविधान जारी भएपछि भएको पहिलो आम निर्वाचनमा २०७४ मा (प्रत्यक्ष ८० र समानुपातिक ४१ सहित १२१ सिट) ल्याएको थियो ।
एमाले र माओवादी (प्रत्यक्ष ३६ र समानुपातिक १७) बीच एकता भएपछि बनेको नेकपा तत्कालीन प्रतिनिधिसभामा १७४ सिट पुगेको थियो । २०७९ मा ७८ सिटसहित मा दोस्रो दल बनेको थियो ।




प्रतिक्रिया