काठमाण्डु- नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको भन्दै असन्तुष्टि जनाएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा एमाले महासचिव शंखर पोखरेलले सत्ता गठबन्धनले धाँधली गरेर चुनावलाई निष्पक्ष हुन नदिएको बताएका हुन ।
पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै गठबन्धन दलहरुले चुनावमा धाँधली गरेको दावी गरे । ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भयो। मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको निम्न कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ।’, विज्ञप्ति भनिएको छ ।
नेकपा एमालेले मतगणना हुँदै गर्दा दोस्रोमा पुगेपछि चुनावी निष्पक्षतामाथि प्रश्न उठाएको हो । गठबन्धनले निर्वाचन आचारसंहितालाई उल्लंघन गरेको गरेको आरोप लगाएको छ । ‘हामीले निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटी सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरुका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ।’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी नेकपा एमालेले मतदानको क्रममा गठबन्धनले योजनाबद्ध रुपमा षडयन्त्र भएको बताएको छ । ‘निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पु¥याउन जानेक्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारी साधनमा साथै जान रोक लगाइएको छ । कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएको समेत पाइयो । केही स्थानमा मतगणना गर्दा खसेको मत भन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने, गलत स्थानमा हस्ताक्षर गर्ने कार्य भए,’ विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया