एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा


काठमाण्डु – नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसंगठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताए। एक हजार दुई सय प्रतिनिधि हुने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।

अध्यक्ष पाण्डेले नेतृत्व चयनका सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताए।

उनले भने, “मुलुकको राजधानीसमेत रहेको प्रदेश कमिटीको प्रथम र ऐतिहासिक अधिवेशन हुँदैछ। यसमा स्वभाविकरूपमा चासो र आकर्षण हुन्छ। प्रतिनिधिहरू आइसकेपछि उहाँहरुको भावनाअनुसार हामी अघि बढ्छौं। तर बाहिर आएजस्तो कुनै गुटबन्दी र अस्वस्थ्य प्रतिस्पर्धा हामीमा छैन। पार्टीको नेतृत्वबाट पनि यो हुनुपर्छ या हुनुपर्दैन भन्ने कुनै सन्देश आएको छैन। यो प्रदेश कमिटीका प्रतिनिधिकै हातमा रहेको निर्णय हो। मुख्य कुरा पार्टीको लक्ष्य र गन्तव्यअनुसार हामी प्रभावकारीरूपमा चल्ने भन्ने नै हो।”

यसअघि एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement