एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने


काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्काे रूपमा उठिरहेको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूह २ जेठको पार्टी कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानबाट पछि नहटेपछि ओली महाधिवेशन आयोजक कमिटी विघटन गर्न सहमत भएका हुन् ।

पार्टीभित्र तीव्र विवाद बढ्दै गएपछि खनाल नेपाल समूह अर्को पार्टी गठन गर्नेसम्मको तयारीमा जुटेपछि विवादको कारण बनेको महाधिवेशन आयोजक कमिटी विघटन गर्न ओली सहमत भएका हुन् । एमाले ब्युँताएयता खनाल र नेपाल तथा गौतम समूह कुनै पनि बैठकमा सहभागी भएको छैन ।

त्यसयता ओली समूहको बैठक बस्ने र विभिन्न निर्णय गर्ने गरेको छ । उता खनाल नेपाल समूह पनि समानान्तर बैठकलाई निरन्तरता दिँदै सोहीअनुसारको निर्णयका आधारमा अघि बढिरहेको छ ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अब पार्टीमा महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना नरहने प्रस्ट पारेका छन् । पार्टीलाई एकताबद्ध बनाउन महाधिवेशन आयोजक कमिटी विघटन गरेर साबिकको एमाले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।

‘अब नेकपा (एमाले)मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ,’ रिजालले ट्वीटरमा लेखेका छन् ।

१०औं महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचना २ जेठ २०७५ मा फर्किएको घोषणा गर्ने तयारीमा पार्टी अध्यक्ष ओली रहेको एमाले स्रोतले जनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा यस विषयमा गम्भीर रूपमा छलफल भएको छ । बैठकले १५ असारमा स्थायी कमिटी बैठक र १६ असारमा महाधिवेशन आयोजक कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement