एमालेको विरोधकाबीच कांग्रेस-माओवादीले एमसीसी पास गरे : उपाध्यक्ष पौडेल

एमालेको विरोधकाबीच कांग्रेस-माओवादीले एमसीसी पास गरे : उपाध्यक्ष पौडेल

एमालेसँग एक्लै लड्न नसकेपछि गठबन्धनको वैशाखी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनाव लड्न कुनै दलले आट नगरेको बताएका छन् । एक्लै लड्ने आँट नभएपछि गठबन्धनको बैसाखी टेकेको पनि पौडेलले बताए ।

शनिवार प्रेस चौतारी नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले दलहरूले एमालेसँग एक्लै लड्न नसक्ने कुरालाई सार्वजनिक रूपमै स्वीकार गरेको दाबी पनि गरे । ‘एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट देखिएन,’ उनले भने । पौडेलले आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको जिकिर गरे ।

उनले जस्तोसुकै गठबन्धनलाई पनि जनताले परास्त गर्ने दाबी गर्दै आगामी निर्वाचनमा एमालेले नै बहुमत सिटमा विजयी हासिल गर्ने बताए । ‘एमालेले आगामी चुनावमा बहुमत सिट जित्छ, त्यसो हुन नसके ठूलो दलको रूपमा स्थापित हुन्छ,’ उपाध्यक्ष पौडेलले भने ।

उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै लड्दा पनि धेरै जित निकालेको दाबी गर्दै प्रचारलाई व्यवस्थित गर्न आग्रह गरे । एमालेले गरेका राम्रा काम जनतामा नजाने तर गठबन्धनले आफूले गर्दै नगरिकान कामलाई समेत श्रेय लिने गरी जनतामा भ्रम फैलाउने काम गरेको भन्दै उनले त्यसलाई मिडियाले चिर्नुपर्ने बताए ।

‘सत्य कुरा जनताले थाहा पाउनुपर्छ, तर गठबन्धनले जनतामा भ्रम छर्ने मात्रै काम गरेको छ, एमालेले साढे तीन वर्ष सरकार चलाउँदा भएका राम्रा कामबारे जनतालाई बुझाउनु जरुरी छ,’ पौडेलले भने ।

उनले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन भातृ संगठनहरूलाई आग्रह समेत गरे । निर्वाचन सम्मुखमै आइसकेको बताउँदै पौडेलले एमालेका लागि अनुकूल नतिजा आउने गरी परिणाम निस्कने गरी आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे ।

त्यस्तै उनले एसपीपीमा एमालेको विरोधकै कारण सरकार पछि हट्न बाध्य भएको बताए । एमसीसी एमालेको विरोधकाबीच कांग्रेस माओवादीले पास गरेको उनको भनाई थियो । ‘नागरिकता विधेयक एमालेको विरोधकाबीच संसदबाट पास भयो’, उपाध्यक्ष पौडेलले भने, ‘तर यसको जस एमालेले होइन गठबन्धनले लिइरहेको छ । हामीले सहज रूपमा बुझाउन सकेका छैनौँ ।’