एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान मस्यौदा प्रस्तुत हुने

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान मस्यौदा प्रस्तुत हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुड नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सोमबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बस्ने बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने छ ।

प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन्। प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा ३ मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ ।

सचिवालय र पोलिटब्युरो सदस्यहरूबाहेकका केन्द्रीय सदस्यहरूले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने उनको भनाई छ। सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यले यस अगाडि नै आ(आफ्नो धारणा राखेकाले केन्द्रीय सदस्यमात्र रहेकालाई बोल्ने दिने तयारी गरिएको हो।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोबाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन्। बैठक मंगलबार सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यहरूले धारणा राख्ने समय लिएमा पर्सिसम्म लम्बिने सम्भावना छ ।

पार्टीको साउन १ गते बसेको सचिवालय, २ र ३ गते बसेको पोलिटव्यूरो बैठकले एमालेको सचिवालय र पोलिटब्युरो बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाएको छ । वरिष्ठ उपाध्यक्षसहित केही पद पनि खारेज गरेको छ। हाल एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव गरी १९ पदाधिकारी रहने व्यवस्था छ। एमालेले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । सचिवालय पनि हटाइएको छ ।

एमालेमा तीन तहका संरचना (स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी) मात्र रहनेछन्। सचिवालयलाई हटाएर पदाधिकारीहरुलाई नै स्थायी कमिटी बनाउने एमालेको तयारी छ। केन्द्रीय कमिटीका एकतिहाई सदस्य पोलिटब्युरो रहने भएकाले एमालेको पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ।

हाल एमाले पोलिटब्युरो ९९ सदस्यीय थियो। यस अगाडि एमालेले जनसंगठनका केन्द्रीय कमिटीमा १९ सदस्यीय पदाधिकारीलाई घटाएर ९ सदस्यीय पदाधिकारी बनाएको थियो। त्यसैगरी ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो, जस अनुसार अधिवेशन भइसकेका छन्।

विधानमा केन्द्रीय सदस्यहरू स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन पाउने र विधान महाधिवेशनको हकमा यस अघिका प्रतिनिधि मात्र सहभागी हुन पाउने व्यवस्थालाई यथावत् राखिएको छ।केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ।

मातहतका कमिटीबाट आएका सुझावहरुलाई समेटेर विधान महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी। आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना हुँदैछ।