काठमाण्डु – नेकपा एमालेको विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा प्रतिवेदनमाथि छलफल सकिएको छ ।
शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।
सो तीन प्रस्तावमाथि केन्द्रीय कमिटीमा १९६ केन्द्रीय सदस्यहरुलाई प्रदेशगत आधारमा १० वटा समुह बनाएर शुक्रबारबाटै समूहगत रुपमा छलफल सुरु गरिएको थियो । सो छलफल आज सकिएको हो ।
भूगोलका सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरुबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको समूह बनाएर विधान मस्यौदा, राजनीतिक र सांगठानिक प्रस्तावमाथि छलफल भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार समूहगत छलफलका निष्कर्ष एक एकजना टोली नेताले बैठकमा सुनाउनेछन् । जसमा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलवहादुर राना, कर्णालीबाट यमलाल कडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले आ आफ्नो समूहको निष्कर्ष सुनाउनेछन् ।
समूहगत निष्कर्ष र सुझावका आधारमा केन्द्रीय कमिटीले आवश्यक परिमार्जनसहित प्रतिवेदनहरु पारित गर्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए । समूहबाट आएका सुझावहरुमाथि अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख पौडेलले जवाफ दिनेछन् ।




प्रतिक्रिया