चितवन- नेकपा एमालेको १० महाधिवेशनमा मतदान जारी छ । बिहान ८ बजेसम्म १ हजार २ सय १० मत खसेको छ । एमालेको महाधिवेशनमा कूल २ हजार १ सय ५३ मतदाता छन् । विद्युतीय मतदानबाट निर्वाचन भइरहेको छ ।
मंगलबार बिहान ४ बजेबाट सुरु भएको मतदान १० बजेभित्र सक्ने तयारी छ । मतदान सकिएको एक घण्टाभित्रै परिणाम घोषणा गर्ने तयारी निर्वाचन आयोगको छ ।
एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा १ सय २६ पदका लागि १ सय ८२ जना चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।
अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । सचिवमा बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टङ्क कार्कीले उम्मेदवारी दिएका छन् ।
मतदानमा अध्यक्ष केपी शर्मा ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिहरुलाई वितरण गरिएको छ । यसअघि एमालेले प्यानल बनाउन नपाउने निर्णय गरेको थियो । रावल पक्षले पनि पर्चाहरु वितरण गरेको छ ।
एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले बन्दसत्र हलमा पेश भएको सर्वसम्बत पत्र नै बांडिएकाले त्यसलाई गलत रुपमा बुझ्न नहुने बताएका छन् । उनले अध्यक्ष मण्डलका तर्फबाट जारी भएको सूची नै एकताको सूची भएकाले त्यसलाई बांडिनुलाई अन्यथा लिन नहुने बताए ।




प्रतिक्रिया