काठमाण्डु – नेकपा एमालेले ७ जनालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमालेले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहानेको नाम भदौ २२ भित्र सिफारिस गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार क्षेत्रीय कमिटीले उम्मेदवार सिफारिस गरिरहेका छन् । जसमा हालसम्म ७ निर्वाचन क्षेत्रमा एमालेबाट एकल उम्मेदवार सिफारिस भएका छन् ।
एमालेले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेको थियो । तर, ७ जना नेता सर्वसम्मत रुपमा सिफारिस भएका हुन् । सर्वसम्मत नाम सिफारिस भएका ७ मध्ये ४ जना काठमाण्डुकै रहेका छन् ।
जसमा पर्सा ३ बाट राजकुमार गुप्ता सर्वसम्मत सिफारिस भएका छन् । काठमाण्डु २ बाट मणिराम फुयाल, ३ बाट कृष्ण राई, ४ बाट डा. राजन भट्टराई, ५ बाट ईश्वर पोखरेल, ८ बाट राजेश शाक्य, र बैतडीबाट दामोदर भण्डारी सर्वसम्मत एकल उम्मेदवार सिफारिस भएका हुन् ।
एमाले प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तल्ला कमिटीबाट आएका सिफारिस अन्तिम नहुने बताए । उनले केन्द्रले आवश्यकताअनुसार हेरफेर गर्न सक्ने बताए ।
तर, आमरुपमा सर्वसम्मत भएका नामको हकमा पार्टीमा विवाद नभएको अवस्थामा भने सोही कायम हुने उनको भनाइ छ ।




प्रतिक्रिया