गाजा अस्पतालमा गरिएको आक्रमणको एमालेद्वारा भर्त्सना,आक्रमण रोक्न आह्वान


काठमाण्डु –  नेकपा (एमाले)ले प्यालेस्टाइनी राज्यको गाजा सहरको अल अहली अरब अस्पतालमा भएको रकेट आक्रमणको भर्त्सना गरेको छ ।

मंगलबार राति इजरायली सेनाले गाजाको एक अस्पतालमा आक्रमण गर्दा कम्तिमा ५०० जनाको मृत्यु भएको थियाे ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै गाजा घटनाको निन्दा गरेका हुन् । रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिंगो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौँको संख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरेपनि कमी हुन्छ । हामी यस आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ,” ओलीले भनेका छन् ।

जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिनेगरी भएको आक्रमणबाट अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको ओलीको भनाइ छ ।

एमाले शान्तिको पक्षमा रहेको उल्लेख गर्दै जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्ने बताएका छन् ।

“उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छ’ भन्ने मान्यता राख्दछौँ । सबैखाले आक्रमण रोक्न सम्बन्धित पक्षलाई आह्वान समेत गरेका छन् ।

इजरायल र प्यालेस्टाइनी समूह हमासबीच भएको जारी द्वन्द्वमा दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement