बुटवल- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशलाई सुरुङयुगमा प्रवेश गराउने काम एमालेकै सरकारको पालामा सुरु भएको बताएका छन् ।
काठमाण्डुकाे नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै उनले बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताए ।
गुल्मी १ का प्रतिनिधिसभाका उम्मेदवार ज्ञवालीले विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘देश अहिले सुरुङ युगमा प्रवेश गरेको छ, यसको आधार एमालेकै सरकारले तयार गरेको हा ।’
ज्ञवालीले तराईमा सशस्त्र संघर्षगरी हिंसा मच्चाइरहेका समूहलाई पनि एमालेकै सरकार हुँदा देशको मूलधारको शान्तिपूर्ण राजनीतिमा ल्याएको दावी गरे । ‘तराईमा द्वन्द्व चर्काएका सिके राउत लगायतका समूहलाई शान्तिको बाटोमा ल्याउन सफल भयौं, यो एमाले नेतृत्वको सरकार हुँदा संभव भएको हो,’ उनले भने ।
मधेश केन्द्रित दलहरुले संविधान जलाइरहेको र सिके राउतले मधेशमा द्वन्द्व चर्काउँदै गरेको स्मरण गर्दै ज्ञवालीले भने, ‘विप्लव शान्ति प्रकृया बाहिरै थिए तर जब नेकपाको सरकार बन्यो विगतका सबै द्वन्द्व समाधान भए ।’
उनले मुलुकलाई द्वन्द्वबाट मुक्त बनाउन एमाले नेतृत्वको सरकारले सफलता पाएको दावी गर्दै शान्ति, स्थिरता र विकासका लागि एमालेको जित मुलुकले खोजिरहेको बताए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले एमालेको राष्ट्रियताको अडानकै कारण देशले नयाँ नक्सा पाएको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाएका छौं, साना तीना धक्काले देश झुक्दैन भन्ने प्रमाणित गरेका छौं, उनले भने ।




प्रतिक्रिया