काठमाण्डु : नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ । साँझ ७ बजे बस्ने बैठकले भोली हुने राष्ट्रियसभाको उप–चुनाव र कार्यदलको कार्यक्षेत्रबारे कार्यविधि बनाउने बताइएको छ ।
राष्ट्रिय सभाको उपचुनावमा बागमती प्रदेशमा नेकपा एमालेले माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा बादललाई उमेद्वार बनाएको छ भने एमालेकै माधव नेपाल पक्षले अन्य दलहरूलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएको छ ।
यसबारे पनि आजको बैठकमा छलफल हुने बुझिएको छ । यसअघि हिजोको बैठकले पार्टीमा भ्रम सिर्जना हुने र एक अर्कालाई लक्षित गरेर आलोचना हुने काम नगर्न पार्टीका नेता/कार्यकर्तालाई अनुरोध गरेको थियो ।
पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी फुटकै अवस्थामा पुग्न थालेपछि विवाद मिलाउन कार्यदल बनेको हो । माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको छ ।
ओली पक्षले भने पार्टी धेरै अगाडी बढीसकेकाले नयाँ ढंगले व्यवस्थापन गर्नुपर्ने बताउँदै आएको छ । पार्टीभित्रको विवाद मिलाउन ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल र नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको कार्यदल बनेको छ ।




प्रतिक्रिया