काठमाण्डु – नेकपा एमालेको विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठक नै अनिश्चित बनेको छ ।
गत आइतबार नेकपा एमालेको विवाद समाधान गर्न गठन भएको कार्यदलको सोमबार बस्ने भनिएको पहिलो बैठक मंगलबार पनि बस्ने नबस्ने टुंगो नलागेको कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।
‘बैठक हिजै बस्नुपर्ने हो । तर, आज बस्छ कि हेरौं !’, बैठकबारे अनभिज्ञता प्रकट गर्दै नेता पाण्डेले भने ।
कार्यदलका नेतृत्वकर्ता सुवास नेम्वाङ र भीम रावलबीच बैठक बोलाउने विषयमा सहमति हुन नसकेको कार्यदलका एक सदस्यले जानकारी दिए । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरुबीच नै विवाद उत्पन्न भएपछि पहिलो बैठक अनिश्चित बनेको हो ।
कार्यदललाई विवाद समाधानका लागि तीन दिनको समय दिइएको भए पनि आज दोस्रो दिनको बैठक बस्ने विषयमा कुनै टुंगो लागेको छैन् । नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनका लागि आवश्यक खाका निर्माण गर्न कार्यदललाई निर्देशन दिइएको थियो ।
कार्यदलको पहिलो बैठकले पार्टीका समस्या समाधानबारे छलफल गर्ने कार्यसूची रहे पनि हालसम्म बैठक नै बस्न सकेको छैन् । कार्यदलले तयार पारेको खाकाका आधारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका समस्या सुल्झाउँदै जानेछन् ।
आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाएका थिए । कार्यदलमा दुवै पक्षका ५र५ जना सदस्य रहेका छन् ।
कार्यदलको सदस्यमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् ।




प्रतिक्रिया