काठमाण्डु – नेकपा (एमाले) खोटाङमा अध्यक्षका लागि भाँडभैलो सुरु भएको छ । साविक एमालेबाट जिल्ला अध्यक्ष रहेका बबि चाम्लिङलाई हटाएर उपाध्यक्ष राम दङ्गाललाई अध्यक्ष बनाएपछि नयाँ विवाद देखिएको हो ।
सर्वोच्च अदालतले एमाले २०७५ जेष्ठ २ गते अगाडीकै अबस्थामा स्थापित भएको बताएको छ । तर, नेकपाबाट उपाध्यक्ष भएका दंगाललाई अध्यक्ष बनाएपछि विवाद देखिएको हो ।
राई २०७२ बैशाख १३ गते सम्पन्न भएको नेकपा एमाले खोटाङको छैटौं जिल्ला अधिविशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । भने दंगला उपाध्यक्षमा निर्वाचित भएका थिए । उनले आफूले अध्यक्षबाट राजीनामा नदिएको भन्दै दंगाललाई अध्यक्ष स्वीकार गर्न नसकिने बताएका छन् ।
दंगाल पक्षले भने विगतमा बबिबाट धेरै पटक धोका दिएकाले उनलाई अध्यक्ष स्वीकार गर्न नसकिने बताउँदै आएको छ । बबिले हालसम्म कुनैपनि जिल्ला अधिबेसन नभएकाले आधिकारिक अध्यक्ष आफै रहेको जानकारी गराएका छन् । पुष्पलाल स्मृति भवनबाट नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखे लगत्तै एमालेको अध्यक्षमा दंगाललाई चयन गरिएको भोलीपल्ट चाम्लिङले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
राई सामाजिक सञ्चालमार्फत भनेका छन्, ‘सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसला अनुसार नेकपा एमाले २०७५ जेष्ठ २ गते अगाडीकै अबस्थामा स्थापित भएको कुरा सबैमा अबगत नै छ । २०७२ बैशाख १३ गते सम्पन्न भएको नेकपा एमाले खोटाङको छैटौं जिल्ला अधिविशनले मलाई जिल्ला अध्यक्ष पदमा निर्वाचित गरेको कुरा स्मरण गराउदै उक्त पदबाट राजीनामा नदिएको र तत्पश्चात कुनै जिल्ला अधिबेशन पनि नभएको हुदा आधिकारिक अध्यक्ष म बबि चाम्लिङ नै रहेको सम्पुर्णमा जानकारी गराउन चाहन्छु । हिजो २०७७ फागुन २५ गते नेकपा एमालेको उपाध्यक्ष राम प्रसाद दङ्गाललाइ पार्टीको अध्यक्ष भनी विभिन्न सन्चार माध्यम र सामाजिक सन्जाल मार्फत बुझिन आएकोले उक्त खबर प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । र पार्टीको आधिकारिक अधिबेशन नभएसम्म वा पार्टीको अन्य सस्थागत निर्णय नभएसम्मको लागी म बबि चाम्लिङ नै नेकपा एमाले खोटाङको जिल्ला पार्टी अध्यक्ष रहने सम्पुर्णमा जानकारी गराउदै कोहिपनी भ्रममा नपरि पार्टी निर्माणको अभियानमा एकताबद्ध भइ अगाडी बढ्न हुन समेत हार्दिक अपिल गर्दछु ।’




प्रतिक्रिया