काठमाण्डु- नेकपा एमालेले पार्टी विभाजन गर्नेहरूलाई सम्झिरहेको बताएको छ । माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी एमालेसँग मिल्ने चर्चा चलिरहेका बेला नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी विभाजन गर्नेहरूलाई नबिर्सेको बताएका हुन् ।
नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन फुट्नुका साथै नेकपा एमालेसहित अन्य साना सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि माधव नेपाल राजनीतिक रुपमा एक्लिएका छन् ।
नेकपा एमालेबाट अलग्गिए देखि प्रचण्डसँग सहकार्य गर्दै आएका माधव नेपालसँग छलफल नै नगरी प्रचण्ड प्रधानमन्त्री भए । प्रचण्डले आफूसँग छलफल नगरेको भन्दै माधव नेपालले खुलेआम असन्तुष्ट पोख्दै आएका छन् । यसैबीच प्रचण्डसँग असन्तुष्ट बनेका माधव नेपाल नेकपा एमालेसँग मिल्न लागेको चर्चा पनि चलिरहेको छ ।
तर, एमालेका उपमहासचिव ज्ञवालीले भने माफी मागे मात्र माधव नेपाल नेतृत्वको नेकपा एससँग एकता गर्न सकिने प्रष्ट पारे । शनिबार एमाले निकट रिटर्नी फेडरेशनको पहिलो स्थापना दिवसलाई शनिवार सम्बोधन गर्दै उनले माधव नेपाललाई राष्ट्रपति बनाउन लागिएको र नेकपा एसलाई मिलाउन लागिएको भन्ने भ्रम मात्र भएको बताए ।
पार्टी विभाजन र एमालेलाई सरकारबाट विस्थापन गर्नका लागि गरिएको चालबाजी आफूहरूले नबिर्सिएको उनको भनाइ छ । ‘हामीले बिर्सेका छैनौँ र बिर्सने कुरा पनि होइन । एमालेको विभाजन र एमालेलाई सरकारबाट विस्थापन गर्नका लागि गरिएको यावत क्रियाकलाप जस्टिफाइ हुन सक्दैन । हामी पूर्वाग्रह राख्दैनौँ तर गम्भीर रियालइजेशन बेगर अरू धेरै कुरा सम्भव छैन ।’, उनले भने ।
यता एकीकृत समाजवादीले पनि तत्काल एमालेसँग एकता नहुने बताएको छ । शनिबार बसेको पार्टीको बैठकले कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय गरेको हो । बैठक पछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा समाहित हुने विषय झुटो भएको बताएका थिए ।




प्रतिक्रिया