ओली समूहका नेतालाई माधव नेपालको जवाफः हस्ताक्षर फिर्ता लिन्न

ओली समूहका नेतालाई माधव नेपालको जवाफः हस्ताक्षर फिर्ता लिन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान एमाले केपी शर्मा ओली पक्षका नेताहरुले नेता नेपाललाई कोटेश्वर पुगेर भेटवार्ता गरेका हुन् ।

एमाले नेताहरु सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र शंकर पोखरेल कोटेश्वर पुगेर नेता नेपाललाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेका हुन् । ओली समूहका नेताहरुसँगै घनश्याम भुसाल पनि नेता नेपाल निवास गएका थिए ।

‘अध्यक्ष कमरेडसँग बसेर छलफल गर्नुस् । हस्ताक्षर फिर्ता लिएर पार्टीको बैठकमा नियमित आउनूस् । पार्टीलाई एकताबद्ध बनाउनूपर्छ’, ओली समूहका नेताहरुले भने ।

जवाफमा नेता नेपालले अदालती प्रक्रियामा गइसकेको विषय फिर्ता लिन नमिल्ने बताएका थिए ।

‘कार्यदल अगाडि बढाउनुपर्छ । पार्टीको विवाद मिलेपछि मात्रै अरु कुरा हुन्छन् । अदालतमा भइसकेको विषय फिर्ता हुँदैन । हस्ताक्षर फिर्ता लिन्न’, नेता नेपालको भनाई उद्धृत गर्दै एक एमाले नेताले भने ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै एमालेको माधव नेपाल समूहसहित १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले विपक्षीलाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन तीन दिने अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटम सोमबार सकिँदैछ ।

सोही विषयमा छलफल गर्न एमाले ओली पक्षका नेताहरु कोटेश्वर पुगेका थिए । तर, नेता नेपाललाई सहमतिमा ल्याउने आजको प्रयास असफल भएको एमाले नेताहरु स्वीकार गर्छन् ।

‘अब त एकताको बाँध भत्किएको छ । केपी ओलीजी एकताका निम्ति लचिलो हुँदा माधव नेपाल प्रचण्डसँग कुम जोड्न हिँड्न कसरी हुन्छ पार्टी एकता ?’, एमालेका एक केन्द्रीय सदस्यले भने ।