मधेशमा एमालेप्रति आकर्षण बढ्दो : मधेशवादी दलका पांच सांसद एमाले प्रवेश गरे

मधेशमा एमालेप्रति आकर्षण बढ्दो : मधेशवादी दलका पांच सांसद एमाले प्रवेश गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेशवादी दलका नेताहरु भटाभट नेकपा एमालेमा प्रवेश गरिरहेका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकै आउंनै लाग्दा मधेशमा एमाले प्रवेशको लहर छ । कुनै बेला मधेशवादी दलहरुले नरुचाउने मध्येका एक नेता हुन् एमाले अध्यक्ष केपी शर्मा ओली । तर, तिनै ओलीले नेतृत्व गरिरहेको पार्टी नेकपा एमालेको अहिले मधेशमा लोकप्रियता बढिरहेको छ ।

एमाले अध्यक्ष ओली पछिल्लो समय पार्टी प्रवेश गराउनकै लागि लगभग हप्तैपिच्छे मधेश झरिरहेका छन् । उनले काठमाण्डौंमा समेत मधेशवादी दलका नेताहरुलाई पार्टी प्रवेश गराइरहेका छन् ।

पछिल्लो समय मधेशवादी दलका पांच जना सांसदहरु एमालेमा प्रवेश गरिसकेका छन् । एमाले धनुषाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अन्जु कुमारी यादव र रुही नाज प्रवेश गरिसकेकी छन् । नाज प्रतिनिधिसभा सदस्य हुन् भने यादव प्रदेशसभा सदस्य हुन् ।

पर्साबाट निर्वाचित प्रदेशसभाका अर्का सदस्य प्रल्हाद गिरी समेत एमालेमा प्रवेश गरिसकेका छन् ।

पूर्वमन्त्री समेत रहेका लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियाले समेत एमाले प्रवेश गर्ने घोषणा गरिसकेका छन् । उनलाई एमालेमा प्रवेश गराउन एमाले अध्यक्ष ओली जनकपुर जाने कार्यक्रम छ । पर्साका अर्का सांसद विमल श्रीवास्तव समेत एमाले प्रवेश गर्ने तयारीमा रहेको स्रोत बताउंछ ।

प्रतिनिधिसभा र प्रदेशसभाको आयु सकिन एक दिनअघि उपेन्द्र यादव नेतृत्वको जसपाकी सांसद रीना यादव एमाले प्रवेश गरेकी छन् । उनि जसपाको केन्द्रीय सदस्य समेत हुन् । उनलाई एमाले अध्यक्षले एमालेमा स्वागत गरेका थिए ।