गठबन्धनको भविष्य धरापमा, एमाले-माओवादीबीच एकताको संकेत !

गठबन्धनको भविष्य धरापमा, एमाले-माओवादीबीच एकताको संकेत !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्थानीय तहको निर्वाचनको नतिजा आएसँगै संघ र प्रदेशको निर्वाचनको चर्चा सुरु भएको छ ।  संघीय निर्वाचनको चर्चा सुरु भएसँगै हालको गठबन्धन भत्काएर बाम एकता गर्ने आवाज उठेको हो ।  

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी बहुमतले पारित गरेसँगै त्यसको विपक्षमा उभिएका नेताहरू वाम एकता गर्नुपर्ने पक्षमा उभिएका छन् ।  बिषेश गरि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु बाम एकतातर्फ अघि बढ्न थालेका हुन् ।  आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भयो ।

अध्यक्ष ओली र नेता श्रेष्ठबीच भएको भेटवार्तामा बाम एकताकोबारेमा समेत छलफल भएको थियो । उनीहरूबीच विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको र वामपन्थीहरूलाई फुटाउन विभिन्न शक्ति सक्रिय रहेको विषयमा छलफल भएको हो ।  ‘अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो । त्यसमा नेपालको लोकतान्त्रिक पद्धतिमा वाम गठबन्धनका बारेमा पनि कुराकानी हुनु स्वाभाविक हो । त्यत्रो अवसर हुँदाहुँदै कहाँ चुक्यौँ भन्ने विषयमा सामान्य छलफल भयो। कमजोरीमा भूमिका आ आफ्नै किसिमका होलान् तर कमजोरी भएकै हो भन्ने कुरा भयो।’ श्रेष्ठले भने ।  

नेकपा माओवादी केन्द्रले एमसीसी पास गर्न सहयोग गरे देखि नै नेता श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका छन् । पछिल्लो समय उनी बाम एकताको पक्षमा उभिएका छन् ।  त्यसैगरी सोमबार नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुन अनन्तबीच गोप्य भेटवार्ता भएको छ ।  

ज्ञवाली र पुनबीच भएको गोप्य भेटवार्तालाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा एमालेबाट घनश्याम भूसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन र नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल, बेदुराम भुसाललगायतका नेताहरु वाम एकताको पक्षमा उभिएका छन् ।

एमालेको बाहिर एउटा बोली भित्र अर्कै रणनीति !

नेकपा एमालेले बाहिरि रुपमा संघ र प्रदेशको निर्वाचनअघि बाम एकता सम्भव नभएको बताउँदै आएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भव नभएको दाबी गरेका छन् । सोमबार पत्रकारसम्मेलनमा उपमहासचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको दाबी गरेका हुन् । ‘त्यो अनुमान सही होइन । छलफल चलिरहेको छ एमाले अहिले देशलाई वामपन्थी एकतातिर र गैरवामपन्थी एक हुनु पर्छ भन्ने पक्षमा एमाले छैन ।’

तर भित्रभित्रै नेकपा एमालेले अहिलेको गठबन्धन भत्काउन हजारौं प्रयत्नहरु गरिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जसरी पनि हालको गठबन्धन भत्काउने दाउमा छन् । अहिलेको सत्ता गठबन्धन कायमै रहे संघ र प्रदेशको चुनावमा पार्टी झन् कमजोर अवस्थामा खुम्चने देखिए पछि अध्यक्ष ओली पाँच दलीय गठबन्धन भत्काउने प्रयासमा छन् । संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्र निर्णायक पोजिसनमा देखिएको छ ।  त्यसैले पनि एमालेका दोस्रो तहका नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग सम्वाद बाक्लो बनाईरहेका छन् ।

यसभन्दा अघि मोरङमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय सत्ता गठबन्धन अब धेरै नटिक्ने दाबी गरेका थिए । उनले आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुने जिकिरसमेत गरेका थिए ।

कांग्रेसलाई २०७४ को सरप्राइज दोहोर्‍याउने चलखेल ! 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले कांग्रेसँग गठबन्धन गरेको थियो । तर संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेर सरप्राइज दिएको थियो । अहिले पनि स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले त्यही रणनीति दोर्होयाउने त होइन ? भन्ने प्रश्नसमेत खडा भएको छ । नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले धोका दिएको कारणले सोचेजस्तो नतिजा नआएको निष्कर्ष निकालेको छ ।

पार्टीको बैठकमा स्थानीय तहको चुनावको नतिजाबारे छलफल गर्दै माओवादी केन्द्रले नेपाली कांग्रेसका नेताहरूले जालझेल गरेको आरोप लगाएको थियो । प्रचण्डले पनि बारमबार नेपाली कांग्रेसका नेताहरुमा घमण्ड धेरै भएको बताउँदै आएका छन् । यसभन्दा अघि स्थानीय तहको निर्वाचन अन्तर्गत माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको दुई दिने प्रशिक्षण कार्यक्रममा प्रचण्डले संघ र प्रदेशको चुनाव आउनै लाग्दा कांग्रेसमा दम्भ देखिने आशंका बढेको बताएका थिए ।

स्थानीय तहको चुनावपछि एमालेसँग फेरि माओवादीको सहकार्य हुने चर्चा सुरु भएका बेला दाहालले कांग्रेसलाई अहंकार देखाए ठेगान लगाउने चेतावनी दिएका हुन्। ‘अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौँ। मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो। हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ। हाम्रो अर्को केही छैन। तर हामी चिन्तित छौँ यतिबेला। फेरि कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन, अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरि एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई लगाउने दिन नआओस् भन्ने छ।’, उनले भनेकाे थिए ।

प्रचण्डको उक्त अभिव्यक्तिबाट उनी पनि वाम एकताको पक्षमा नै रहेका छन् भन्ने आँकलन गरिएको छ । त्यसकारण पनि पछिल्लो समय कांग्रेसलाई ०७४ को सरप्राइज दोर्होयाउने चलखेल भइरहेको समेत बुझिएको छ ।