यसकारण बढ्यो नेकपा एमाले र माओवादी मिल्ने सम्भावना

यसकारण बढ्यो नेकपा एमाले र माओवादी मिल्ने सम्भावना


काठमाण्डु- प्रमुख राजनीतिक दलहरु नयाँ सरकार गठनको लागि बहुमत जुटाउन लागि परेका छन् ।  विषेश गरेर संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत पहिलो दल बनेको नेपाली कांग्रेस नयाँ सरकार गठन गर्न सक्रिय रहेको छ ।

हालको सत्ता गठबन्धनसहित अन्य साना दलको सहयोगमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको रणनीति हो ।  तर, सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीमा दावी गरेको छ ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई भावी प्रधानमन्त्री बनाउन प्रस्ताव गरे । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने बताए ।  प्रचण्डले प्रधानमन्त्रीमा दावी गरेपछि देउवा तनावमा परेका छन् ।

नेपाली कांग्रेस ठुलो दल भएकाले पहिलो चरणमा आफूहरुले प्रधानमन्त्री पाउनु पर्ने कांग्रेस नेताहरुको अडान छ । देउवा पनि फेरि सरकारको नेतृत्व आफै गर्न चाँहन्छन् । यता प्रचण्डले सरकार गठनको चाबी  माओवादी केन्द्रको हातमा रहेकाले आफूले प्रधानमन्त्री पाउने दावी गरेका छन् । प्रचण्डले गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरे पनि देउवा सहमत नहुने देखिएका छन् ।

देउवाले पनि आफू पहिलो चरणबाट प्रधानमन्त्री पद नछाड्ने मनशाय राखेपछि प्रचण्डले कांग्रेस र एमाले दुवैतिर संवाद अघि बढाएका छन् ।  यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि हालतको सत्ता गठबन्धन जसरी पनि फूटाउने रणनीतिमा लागेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले फेरि आफूहरु मिल्नुपर्ने आवाज उठाइरहेका छन् ।

जसले आफूलाई प्रधानमन्त्री बनाउन स्वीकार गर्छ उतै लाग्ने प्रचण्डको रणनीति देखिन्छ । देउवा भने पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन राजी नहुने अवस्थामा छन् । प्रचण्डले प्रधानमन्त्रीको पस्ताव गरेपछि देउवाले आइतबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर छलफल गरे ।  

एकीकृत समाजवादीको दस सिटसहित आफूसँग ६० बढी सिट रहेको प्रचण्डको दाबी छ । सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी पेस गरिरहेका छन् । यही विषयमा ‘क्लियर’ हुन देउवाले नेपालसँग भेटवार्ता गरेका हुन् ।

यदि देउवाले प्रधानमन्त्री बनाउन स्वीकार नगरेपछि प्रचण्ड नेकपा एमालेसँग पनि मिल्न तयार हुने देखिन्छन् । प्रचण्ड र देउवामा प्रधानमन्त्री को बन्ने ? भन्नेबारे सहमति नजुटेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र फेरि एक ठाउँमा उभिने अवस्थामा पुग्ने आँकलन गरिएको छ ।