काठमाण्डु – नेकपा (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक शुक्रबार सम्पन्न हुँदैछ ।
तेस्रो तथा अन्तिम दिनको बैठक बिहान ८ बजेबाट सुरु हुनेछ ।
ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राखेका थिए । यसअघि पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ ।
पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।
बैठकमा प्रस्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा विशेष निर्देशन दिने जनाइएको छ ।
जेन जी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितिको छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको हो ।
बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गर्दैछ ।




प्रतिक्रिया