एमाले वार्ताबाट भाग्न खोजेको सर्वदलीय बैठकको निष्कर्ष, संसद्को अवरोध हटाउन आग्रह

एमाले वार्ताबाट भाग्न खोजेको सर्वदलीय बैठकको निष्कर्ष, संसद्को अवरोध हटाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाएको सर्वदलीय बैठक सकिएको छ ।

बैठकले संसद् सञ्चालनमा देखिएको अवरोध हटाउन प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमाले वार्ताबाट भागेको निष्कर्ष निकालिएको बताए । पत्रकारहरुसँग कुरा गर्दै मन्त्री कार्कीले बैठकमा बोलाउँदा एमाले  संवाद र वार्ताबाट भागेको ठहर गरेको बताए ।

‘बैठकमा बोलाउँदा बोलाउँदै पनि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनु भएन । एमालेको अनुपस्थितिले उहाँहरु संवाद र वार्ताबाट भाग्नु भएको ठहर हामीले गरेका छौँ’, उनले भने, ‘सभामुखले बोलाएको बैठकमा पनि एमाले अनुपस्थित भएको छ । यसले उहाँहरु संवाद र पर भाग्न खोजेको देखिन्छ । जुन कुरा अहिलेको आवश्यकता भन्दा भन्दा भिन्न छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखका केही कार्यप्रति असन्तुष्टि जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी थिए ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।