एमाले कार्यदलकाे बैठक सिंहदरबारमा जारी, माधव नेपालले मस्यौदा फिर्ता पठाए

एमाले कार्यदलकाे बैठक सिंहदरबारमा जारी, माधव नेपालले मस्यौदा फिर्ता पठाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेकपा एमालेकाे विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरू भएकाे हाे । कार्यदलकाे बैठक बिहान आठ बजे बस्ने भनिए पनि कार्यदलमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा जुटेपछि बैठक करिब डेढ घण्टा ढिला सुरु भएको हो । कार्यदल बैठकमा सहभागी हुनुपूर्व नेपालपक्षीय नेताहरूले कोटेश्वर पुगेर वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए ।

शनिबारको बैठकपछि कार्यदलका सदस्यहरूले आइतबार बिहान सुखद खबर सुनाउने प्रतिक्रिया दिएका कारण बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । हिजोको बैठकपछि एमाले विवाद समाधानको औपचारिक घोषणा हुने नेताहरूले दाबी गरेका थिए ।

यता नेकपा एमालेको विवाद समाधानका लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फिर्ता पठाइदिएका छन् ।

शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका हुन् ।

अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले बताउँदै आएका छन् ।