काठमाण्डु – नेकपा एमालेले पार्टीको विधान संशोधन, राजनीतिक र सांगठनिक प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । आइतबारदेखि सुरु भएको एमाले स्थायी कमिटी बैठकले तीनवटै प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको हो ।
बैठकमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव धनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, पुष्प कँडेललगायतले प्रस्तावमाथि सुझाव राखेका थिए । स्थायी समिति सदस्यहरुको सुझाव समेतलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेको केन्द्रीय समिति बैठक असोज ८ र ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकबाट पनि प्राप्त सुझावलाई समेटेर प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने भट्टराईले बताए । यससँगै अब विधान महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नेगरी पार्टी पंक्ति लागिपर्ने उनको भनाइ छ ।
स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि लिखित तथा मौखिक सुझाव दिएका थिए । त्यस्तै एमालेमा उपाध्यक्ष तीन जना मात्रै रहने नयाँ व्यवस्था गरिएको छ । यसअघि ७ जना उपाध्यक्ष रहने प्रस्ताव गरिएको थियो ।




प्रतिक्रिया