एमालेबाट मन्त्रीमा यी नेताहरूको नाम चर्चामा

एमालेबाट मन्त्रीमा यी नेताहरूको नाम चर्चामा


काठमाण्डु – प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच १७ असारमा संविधान संशोधनसहित सत्तासहकार्य गर्ने ७ बुँदे सहमति भएपछि वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । दाहालले २८ असारमा विश्वासको मत लिने तयारी गरेका छन् ।

तर, २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । कांग्रेसका ८८ र एमालेका ७९ गरी १६७ मत रहेकाले दाहालले विश्वासको मत नपाउने निश्चित छ । दुई दलबीच एमाले अध्यक्ष केपी शर्मा ओली पहिले प्रधानमन्त्री बन्ने सहमति भएकाले सम्भवतः २८ असारमै ओली नयाँ प्रधानमन्त्री बन्नेछन् ।

अध्यक्ष ओलीले नेतृत्व गर्ने सरकारमा कसरी अगाडि बढ्ने भन्नेबारेमा आज एमाले सचिवालय बैठकमा छलफल भएको छ । बैठकमा अध्यक्ष ओलीले अब बन्ने सरकारलाई असफल बन्न छुट नभएको बताउँदै पार्टीबाट सक्षम नेतालाई मन्त्री बनाउने बताएका थिए । तर, क- कसलाई मन्त्री बनाउने भन्नेबारे केही खुलाएनन् ।

कांग्रेस र एमालेबीच कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति भएको नेताहरू बताउँछन् ।

एमाले निकटस्थ स्रोतका अनुसार ओलीले यसअघि दाहाल नेतृत्वको सरकारमा मन्त्री रहेका दुई नेतालाई दोहर्‍याउन सक्नेछन् । दोहर्‍याउन पर्ने अवस्था आएमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री रहेका पदम गिरी र भुमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रहेका बलराम अघिकारीलाई दोहर्‍याउने स्रोतले बताएको छ ।

प्रधानमन्त्रीबाहेक एमालेबाट मन्त्रीहरूको नेतृत्व उपमहासचिव पृथ्वी सुब्बा गुरुरूले गर्ने सम्भावना छ । उनी गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पनि हुन् ।

त्यस्तै मन्त्रीमा सचिव योगेश भट्टराई, जुली महतो, ऋषिकेश पोखरेल, विद्या भट्टराई, दीपा शर्मा, तारा लामा तामाङ र सूर्य थापालाई मन्त्री बनाउने सम्भावना रहेको ओली निकट स्रोतले जानकारी दियो । पोखरेल अहिले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति छन् ।

चर्चामा आएका नाममध्य शर्मा मात्रै समानुपातिक तर्फकी सांसद हुन् । अरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन्  । चर्चामा आएका नेतामध्य भट्टराई, शर्मा, तामाङ र थापा मन्त्री नबनेका नयाँ अनुहार हुन् । तामाङले कञ्चनपुर १ बाट वर्तमान प्रधानमन्त्री दाहालकी बुहारी बिना मगरलाई हराएका थिए ।