काठमाण्डु – एमालेले स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय सदस्यहरुलाई ‘मिसन जागरण’ का निम्ति परिचालन गरेको छ ।
आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले यो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित अभियानको विस्तृत व्याख्या सहितको कार्ययोजना पठाएको छ ।
पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पराजयको कारण, पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइएको छ ।
जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’ को नीति प्रस्तुत गर्दै ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’ भन्ने आह्वानसहित कार्ययोजनाको विवरण पठाएको उनले बताए ।
आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरू वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनको पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होउन् भन्ने उद्धेश्यले विस्तृत र सरल भाषामा अवधारणा पत्र तयार गरिएको छ ।
जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा खटेका छन् कि छैनन भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ । केन्द्रबाट खटिने नेताहरूलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले बताए । आचार्यका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहनेछ ।




प्रतिक्रिया