काठमाण्डु – नेकपा एमालेले मन्त्री र तक्मामा परमादेश साट्ने अपवित्र गठबन्धनको परिणाम सर्वोच्चमा देखिएको टिप्पणी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध अदालतभित्र र बाहिरबाट भइरहेको बहिर्गमनको दबाबप्रति मुख खोल्दै प्रमुख प्रतिपक्षी एमालेले सर्वोच्च अदालतमा देखा परेको गुटबन्दी, विग्रह र चरम अराजकताको कारक असार २८ को परमादेश नै रहेको दावी गरेको हो ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भनेका छन्, ‘सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण छ । एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य अदालतका विकृति अन्त्य गर्ने नभएर झनै संस्थागत गर्ने र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नुमात्र हो ।’
उनले न्यायालयमा समस्या विगतमा पनि भएको स्मरण गर्दै अहिलेको समस्या उत्कर्षमा पुग्नु असार २८ को फैसला नै भएको दावी गरेका छन् ।
‘न्यायालयमा समस्या विगतमा पनि थियो, तर यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा प¥यो । निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने । यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति ।’
प्रवक्ता ज्ञवालीले ‘युज एण्ड थ्रो’ अभियानले भोलि अरुलाई पनि चोलेन्द्रशमसेर जबरालाई जस्तै शिकार बनाउने बताएका छन् ।




प्रतिक्रिया