काठमाण्डु -नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । काठमाण्डुको होटल मेरियटमा बुधवार सांझ भएको भेटवार्ता सकरात्मक भएको नेताहरुले बताएका छन् ।
छलफलमा क्रममा दुवै नेताबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुनुको साथै पावर सेयरिङमा समेत कुराकानी भएको थियो । आजको बैठकमा ठोस सहमती नभएपनि छलफल भने सकरात्मक रुपमा अगाडी बढेको स्रोतले बतायो । नेता नेपालले आजको बैठकमा एक व्यक्ति एक मुख्य जिम्मेवारीका विषयलाई प्राथमिकताका साथ उठाएका थिए । तर अध्यक्ष ओली त्यसमा पूर्ण रुपले सहमत नभएको बताइएको छ ।
वार्तामा सहभागी एमाले नेता सुरेन्द्र पाण्डेले दुवै नेताहरुबीच छलफल सकरात्मक भएको बताए । उनले भोली कार्यदलको बैठक फेरी बस्ने जानकारी दिए ।
एमाले उपाध्यक्ष भीम रावलले छलफललाई सकरात्मक दिशामा कसरी अगाडी बढाउने भन्ने विषयमा कुराकानी भइरहेको बताए । उनले भने ‘छलफललाई सकारात्मक दिशामा कसरी लैजाने भन्नेमा कुराकानी भइरहेको छ । फेरि कुराकानी हुनेछ । कुराकानीलाई गहिराइमा लानुपर्ने महसुस भएको छ । फेरि पनि कुराकानी गर्नेछौं । जति पनि वार्ता भइरहेको छ, समस्या समाधानका लागि भइरहेको छ ।’
बैठकबाट बाहिरिने क्रममा नेता नेपाल र प्रधानमन्त्री ओलीले भने कुनै प्रतिक्रिया जनाएनन् । प्रधानमन्त्री ओली र नेता नेपालबीच एक्लाएक्लै भेट हुनु पुर्व दुवै तर्फका दोस्रो तहका नेताहरुसहित कुराकानी भएको थियो ।
आजको वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए भने नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको सहभागीता थियो ।




प्रतिक्रिया