काठमाण्डु– नेकपा एमालेमा सहमतिमा नेतृत्वको चयन हुने भएको छ । चितवनको सौराहामा जारी एमालेको १० औं महाधिवेशनको बन्दसत्रले पार्टीका ३ सय १ केन्द्रीय सदस्य र १९ जना पदाधिकारी छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।
एमालेका संगठन विभागका प्रमुख समेत रहेका उपमहासचिव विष्णु पौडेलले नेतृत्व चयनको जिम्मेवारी अध्यक्ष ओलीलाई दिने प्रस्ताव राखेका थिए । पौडेलको प्रस्तावलाई बन्दसत्रले पारित गरेको थियो ।
पौडेलको प्रस्तावमा एमाले उपाध्यक्ष भीम रावल र नेता घनश्याम भुषालले विरोध गरेका छन् । तर, उनिहरुको विरोधका बावजुत पनि एमालेमा नेतृत्व सहमतिमै टुंगिने सम्भावना बढेको छ । एमाले नेता रावलले अध्यक्षमा र भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
बन्दसत्रको हलले ओलीलाई अधिकार दिएसंगै उनी थप शक्तिशाली बनेका छन् । यसले निर्वाचनको सम्भावना सकिएको एमाले नेताहरुले बताएका छन् । ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची आइतबार पेस गर्नेछन् ।
ओलीले सबै पक्षलाई समेटेर आइतबारको बन्दसत्रमा सूची पेश गर्नेछन् । उनको प्रस्तावमा चित्त नबुझेमा निर्वाचनको बाटो भने खुला हुनेछ । तर,ओलीले रावललगायतका नेताहरुलाई समेटेर सहमतिको खाका ल्याउने तयारी गरेका छन् । जसमा रावललाई उपाध्यक्ष र महासचिवमा विष्णु पौडेललाई ल्याउने उनको तयारी छ ।




प्रतिक्रिया