काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको अवरोध हटाउन सरकारसँग सर्त अघि सारेको छ । लामो समयदेखि सदन अवरुद्ध पार्दै आएको एमालेले सरकारसमक्ष सर्त अगाडि सारेको हो ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नियमित रुपमा सदन सुचारु गर्न परे सत्ता गठबन्धन र सभामुख अग्निपसाद सापकोटाको राजीनामा माग गरेका छन् ।
शुक्रबार एमालेको ६३ जिल्लामा भएको अधिवेशनको भर्चुअल उद्घाटनपछि पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले सभामुख सापकोटाले राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘गठबन्धनले क्षमायाचना गर्ने, सभामुखले गल्ती सच्याउने या सभामुखले राजीनामा दिने कुरामा संसद सञ्चालन अड्किएको छ’, उनले भने, ‘हामीले अदालतमा दर्ता गरेको रिटमाथिको फैसला पनि संसद चल्ने कुरामा जोडिएको छ ।’
साथै उनले पाँच दलीय गठबन्धनले माफी मागे मात्रै संसद चलाउन दिने बताए । पोखरेलले पाँच दलीय गठबन्धन एमालेलाई आरोपित गरेर स्वेच्छाचारी शासनतर्फ उद्यत रहेको पनि बताए ।
‘सत्ता गठबन्धन नै संसद चलाउन चाहँदैन । एमालेलाई जुन तरिकाले विभाजित गरियो, त्यो संवैधानिक छैन’, उनले भने, ’सत्ता गठबन्धनलाई संसद चलाउनु छैन । तर एमालेले अवरोध गर्यो भनेर गीत गाएर जनतालाई भ्रम छर्दैछ ।’
महासचिव पोखरेलले एमाले फुटाइसकेपछि दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएको कुरामा गठबन्धनले गल्ती स्वीकारेर माफी मागे मात्रे संसद खुल्ने बताए ।
केहीदिन अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुखले राजीनामा दिनुपर्ने अडान लिएका थिए । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटमा अध्यक्ष ओलीले सभामुखले राजीनामा दिए संसद सुचारु हुने बताएका थिए ।
साथै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध हटाउने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभामा जारी अवरोध हटाउन पहल गर्ने निर्णय गरिसकेको छ । बालुवाटारमा बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद अवरुद्ध हुनु उचित नभएको भन्दै संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय भएको जानकारी दिए ।
एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही नगरेको भन्दै संसद अवरुद्ध पार्दै आएको छ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।
पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ । गठबन्धनले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चाले एक सिट पाएको छ ।




प्रतिक्रिया