काठमाण्डु – नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ । तीन दिनसम्म गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन् ।
महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना २ हजार ३ सय ४१ जना सहभागी हुने छन् । महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरु काठमाण्डु आइपुगेका छन् ।
महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ ।
उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ ।
प्रतिनिधि परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन् । प्रतिनिधिहरू चारवटा डिजिटल ढोकाबाट सनराइज हलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ ।
महाधिवेशन स्थललाई झकिझकाउ बनाउन प्रवेश द्वारबाट महाधिवेशन हल छिर्दासाथ दाँयातिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्विर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ । हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ । महाधिवेशन स्थल परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्ण कदका तस्विर छन् । यसैगरी कार्लमाक्र्स, फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्बिरहरू राखिएका छन् ।
करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन बिहीबार बसेको सचिवालय बैठकले पास गरेको छ । अध्यक्ष ओलीको प्रतिवेदन पछि उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संसोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि दस्तावेज प्रस्तुतीकरणमा केन्द्रित हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्ताबेज पनि प्रस्तुत गरिने उपमहासचिव ज्ञवालीले जानकारी दिए।
यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि पेश गरिनेछ ।
यस्तै केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
शनिबार प्रतिवेदनहरु माथि नौ वटा समुहमा छलफल हुने र आइतबार समूहले पेश गरेका प्रतिवेदन प्रस्तुतिसहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ । एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यसै हलमा आयोजना गरेको थियो ।




प्रतिक्रिया