एमाले विधान महाधिवेशन : आज तीन वटा प्रतिवेदनमा समूहगत छलफल हुँदै

एमाले विधान महाधिवेशन : आज तीन वटा प्रतिवेदनमा समूहगत छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको दोस्रो दिन शनिबार तीन वटा प्रतिवेदन पेश गरिँदैछ । प्रस्तुत दस्तावेजहरुमाथि माथि छलफल गर्न १० वटा समूह गठन भएका छन् ।

एमालेले महाधिवेशन प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरेको छ । १० वटा समूहलाई छलफलका लागि चार घण्टा समय दिइएको छ । निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका प्रतिवेदन शनिबार पेस हुँदैछ ।

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत भने पहिलो दिन शुक्रबार नै पेस हुने कार्यसूची भए पनि पेस हुन सकेन । पहिलो दिन उद्घाटनसँगै चार वटा प्रतिवेदन मात्र पेस भएका छन् ।

जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठानिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवदन पेस भएका हुन् ।

शनिबार प्रतिवेदन पेस गरिसकेर समूहगत छलफल हुनेछ । महाधिवेशनको समसामियक प्रस्ताव लेखनको संयोजकको जिम्मेवारी भने योगेश भट्टराईलाई दिइएको छ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता छ ।

समूहगत छलफल सकिएपछि फेरि पूर्ण बैठक बस्नेछ । सो बैठकमा समूहको निष्कर्ष सुनाइने छ । समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने छ ।