एमाले विधान महाधिवेशन : तयारी तीव्र, भण्डारी पक्षले फरक मत लैजाने

एमाले विधान महाधिवेशन : तयारी तीव्र, भण्डारी पक्षले फरक मत लैजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आउन दुई दिन मात्र बाँकी छ ।

भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिब पूरा भएको छ ।

एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ ।

दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुन् । ती मध्ये पार्टी छोडेका, मृत्यु भएका र कारबाहीमा परेका नेताको नाम सूचीबाट हटाइएको छ ।

विधानअनुसार रिक्त ठाउँमा नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था एमालेमा छैन । दशौं महाधिवेशनपछि मनोनित भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकालाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उनीहरू आयोजकको हैसियतमा सहभागी हुनेछन् ।

महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २ हजार ३ सय ४९ जना सहभागी हुँदैछन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ विधान महाधिवेशनको मूल नारा तय गरिएको छ ।

महाधिवेशनमा मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिने छ ।

महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेकका अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् भने महासचिव शंकर पोखरलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदन महाधिवेशनमा पठाउने निर्णय लगायत अन्य केही प्राविधिक विषयमा निर्णय हुनेछ ।

सातदोबाटोदेखि गोदावरीसम्म स्वागत द्वार निर्माण र हसिंया हथौडा र सूर्य चिन्ह अंकित झण्डा राख्ने तयारी गरिएको छ ।
विधान अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

भण्डारी पक्षबाट फरक मतको तयारी

पार्टीको नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण स्थगित गर्ने निर्णय गरेपछि उनी पक्षधर नेताहरूले विधान महाधिवेशनमा फरक मत लैजाने तयारी गरेका छन् ।

भण्डारीको सदस्यता नवीकरण नभएपछि वरिष्ठ उपाध्यक्षसहित दुई उपाध्यक्षद्वयले फरक मत राख्दै आएका छन् ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले विधान महाधिवेशनमा आफूहरूको फरक मत कायम रहने बताए ।
‘राजनीतिमा सक्रिय हुने विषय नागरिकको मौलिक हक अन्तर्गत रहने तर, पार्टीले नदिएको अवस्थामा सदस्यताको प्रक्रिया अघि बढ्न सक्दैन’, ज्ञवालीले काठमाण्डुपाटीसँग भने ।

ज्ञवालीले सदस्यता पार्टीले दिएपछि लिने भएको बताउँदै भने, ‘पार्टीले मान्दै मान्दैन, हुँदैन भन्यो भने त्यो सदस्यता हुँदैन । कि त, महाधिवेशनले सदस्यता उचित छ भनेर दिनुपर्छ । नवीकरणलाई मान्यता दिनुपर्छ ।’

ज्ञवालीले विधान महाधिवेशनमा नसुल्झेका विषय ११ औं महाधिवेशनमा उठ्न सक्ने समेत बताए ।

यसअघि विद्या भण्डारी पक्षले फरक मत लैजाने तयारी गरेपछि भदौ १३ गतेको केन्द्रीय कमिटी बैठक स्थगित गरेको असन्तुष्ट समूहले आरोप लगाउँदै आएको छ ।