काठमाण्डु- नेकपा एमालेका राजेन्द्र रावल सुदूरपश्चिमका मुख्यमन्त्री बन्ने भएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका रावल सुदूरपश्चिमका मुख्यमन्त्री बन्ने भएका हुन् ।
यहाँ सत्ता गठबन्धनले मुख्यमन्त्री नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गर्ने सहमित गरेको थियो । जसअनुसार पहिलो चरणमा एमालेका रावल मुख्यमन्त्री बन्ने भएका हुन् ।
यसभन्दा अघि सुदूरपश्चिको सरकार गठनमा निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नभएसम्म कुनै पनि दललाई सरकार बनाउन समर्थन नगर्ने अडान राखेको थियो ।
तर, हाल भने नागरिक उन्मुक्तिले सरकार गठनमा एमालेलाई सरकार गठन गर्न सहयोग गर्ने बताएको छ । सरकार गठन गर्न सहयोग गरे पनि माग पुरा नभएसम्म सरकारमा भने सहभागी नहुने सो पार्टीको भनाइ छ ।
५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ जना प्रदेशसभा सदस्य चाहिने संवैधानिक व्यवस्था रहेको छ । यहाँ नेपाली कांग्रेसले १९ सिट जितेको छ भने माओवादीले ११, नेकपा एमालेले १०, नागरिक उन्मुक्तिले ७, एकीकृत समाजवादीले ४, राप्रपाले १ र १ सिट स्वतन्त्रले जितेको छ ।
जसअनुसार नागरिक उन्मुक्ति पार्टीको समर्थनमा केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राप्रपाको जम्मा सिट सङ्ख्या २९ सिटको बहुमतको सरकार बन्ने भएको पक्का भएको छ ।




प्रतिक्रिया