काठमाण्डु – प्रदेश १ को पहाडी जिल्ला तेह्रथुममा ६ वटा स्थानीय तह छन् । एउटा मात्रै संसदीय क्षेत्र रहेको यो जिल्लामा दुई नगरपालिका र चारवटा गाउँपालिका छन् । यहाँ मुख्यतः एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिन्छ । तर, केही गाउँपालिकामा माओवादी केन्द्रको निर्णायक मत छ ।
०७४ सालको स्थानीय चुनावमा एमालेले वर्चस्व स्थापित गरेको थियो । उसले ६ मध्ये चारवटा तहको प्रमुख–उप्रमुख नै जित्यो । त्यसबाहेक थप एउटा प्रमुखमा पनि जित्न सफल भयो । कांग्रेसले एउटा मात्रै पालिकामा प्रमुख–उपप्रमुख जित्यो भने अर्को एकमा उपप्रमुख हात पार्याे। माओवादीले भने मुख्य पदमा जित निकाल्न सकेन । एमालेले म्याङलुङ नगरपालिकाको मेयर–उपमेयरका साथै आठराई, छथर र फेदाप गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष दुवै जित्यो ।
यस्तै, उसले मेन्छ्यायेम गाउँपालिकाको अध्यक्ष पनि जित्यो । कांग्रेसले लालीगुँरास नगरपालिकाको मेयर–उपमेयर र मेन्छ्यायेम गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । तेह्रथुमका दुई गाउँपालिका आठराई र फेदापमा गत चुनावमा पनि कांग्रेस र माओवादी मिलेका थिए । तर, दुवैमा एमाले साघुँरो मतान्तरले विजयी भयो । छथरको मत हेर्दा यी दुई दलभन्दा एमालेकै बढी देखिन्छ । सदरमुकामसमेत रहेको म्याङलुङ नगरमा पनि माओवादी कमजोर छ । मिल्दा पनि एमालेकै मत बढी देखिन्छ ।
तर, अहिले एमाले विभाजित भएकाले विपक्षीले केही आशा राखेका छन् । जिल्लामा पाँच दलले मिलेर चुनाव लड्ने घोषणा गरिसकेका छन् । तर, यति गर्दा पनि एमाले नै बलियो देखिन्छ । यद्यपि, साबिकका पदाधिकारीको काम सन्तोषजनक नभएकाले त्यसको प्रभाव परिणाममा पर्न सक्छ ।
एमाले विभाजनको सामान्य प्रभाव पनि जिल्लामा परेको छ । एकातिर पाँचदलीय गठबन्धन बन्ने र अर्कातिर विभाजनका कारण एमालेको केही मत घट्ने भएकाले प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।
एमालेलाई विगतको वर्चस्व बचाउनुपर्ने चुनौती देखिन्छ । तर, उसले पहिले जितेकामध्ये एक वा दुई स्थानीय तह गुमाउनुपर्ने हुन सक्छ । यद्यपि, जिल्लाको सबैभन्दा ठूलो पार्टी भने एमाले नै रहने देखिन्छ । थपिएका मतदाता तथा उम्मेदवारको व्यक्तिगत प्रभाव पनि चुनावमा प्रभावी बन्न सक्नेछन् । जिल्लामा ३६ हजार ९ सय ७३ पुरुष र ३५ हजार ९ सय २२ महिला गरी ७२ हजार ८ सय ९५ मतदाता छन् ।










प्रतिक्रिया