काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा कब्जा गर्ने इजरायलको निर्णयप्रति चिन्ता व्यक्त गरेका छन् ।
इजरायलको निर्णयपछि प्रतिक्रिया जनाउँदै उनले इजरायलले गाजा कब्जा गरेमा प्यालेस्टाइनीका निम्ति खतरा बढ्ने बताएका हुन् ।
‘यसले लाखौं प्यालेस्टाइनी र बाँकी बन्धकसहित अरू व्यक्तिहरूको जीवन खतरामा पार्न सक्छ,’ उनले भने ।
महासचिव गुटेरेसले गाजामा प्यालेस्टाइनीले भयावह मानवीय संकट झेलिरहेको बताए । इजरायलले गाजा कब्जा गरेमा जबरजस्ती विस्थापन, हत्या र व्यापक विनाश हुने उनले चेतावनी दिए । आक्रमणले गाजाका प्यालेस्टाइनी जनताको पीडा अझै बढाउने उनले चिन्ता व्यक्त गरे ।
स्थायी युद्धविराम, गाजामा निर्बाध मानवीय पहुँच र सबै बन्धकको तत्काल र बिना शर्त रिहाइका लागि उनले अपिल गरे । इजरायल सरकारलाई अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आफ्नो दायित्व पालना गर्न उनले पुन: आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
महासचिव गुटेरेसले भने, ‘यो अवैध कब्जा अन्त्य नगरेसम्म र व्यावहारिक समाधान प्राप्त नहुँदासम्म यो द्वन्द्वको स्थायी समाधान सम्भव छैन । गाजा प्यालेस्टाइनी राज्यको अभिन्न हिस्सा हो र त्यसलाई कायम राख्नुपर्छ ।’




प्रतिक्रिया