काठमाडौं – अन्डरवर्ल्ड डन दाउद इब्राहिमले नेपालमा समेत आफ्नो अड्डा बनाएको खुलासा भएको छ ।
कुनै समय दाउदको ग्याङ्गका सदस्य समेत रहेका एजाज युसुफ लकडाले ८ जनवरीमा भारत विहारको राजधानी पटनाबाट पक्राउ परेपछि लडाकाले अन्डरवर्ल्ड डन अब्राहिमले नेपालबाट भारतमा नक्कली नोट पठाउने गरेको मुम्बई प्रहरीसमक्ष बताएका हुन् ।
भारतीय अनलाईन जागरणमा प्रकाशन भएको एक समाचारमा जनाइए अनुसार नेपालमा पाकिस्तानी दूतावासका प्रमुख अधिकारीको माध्यमबाट दाउदले आफ्नो धन्दा चलाइरहेका छन् ।
त्यस्तै भारतीय अनलाइन प्रभाव खबरका अनुसार काठमाडौंमा दाउदको कम्पनीले करोडौंको लगानी गरेको र निकै ठूलो कारोबार सञ्चालन गरेको छ । सबैभन्दा धेरै लगानी इन्फास्ट्रक्चरको क्षेत्रमा गरिएको समाचारमा दाबी गरिएको छ । तर समाचारमा कम्पनीको नामबारे भने उल्लेख गरिएको छैन् ।
कयौं कन्स्ट्रक्सन र अन्य कम्पनीमा पनि दाउदले लगानी गरेको र यसमा नेपालका कयौं नेताहरुको पनि पार्टनरशिप रहेको दाबी समाचारमा गरिएको छ । तर कुन–कुन नेताको पार्टनरशिप छ भन्नेबारे भने उल्लेख गरिएको छैन ।
दाउदको कम्पनीले सन् २००८–२००९बाट नै काठमाडौंमा लगानी गर्न शुरु गरेको र उक्त कारोबार मुख्य रुपमा लकडाले नै हेर्ने गरेको उनले भारतीय प्रहरीलाई दिएको वयानमा उल्लेख गरिएको समाचारमा जनाइएको छ । क्यानडापछि दाउदले आफ्नो दोस्रो महत्वपूर्ण स्थानमा नेपाललाई नै बनाएको समाचारमा दाबी गरिएको छ ।
काठमाडौंको बासबारीमा दाउदको एक आलीशान होटल रहेको र उनी काठमाडौं आउजाउ गरिरहने दाबी समाचारमा गरिएको छ । लकडाले मस्ट वान्टेड दाउदको पाकिस्तानको कराचीमा दुई घर रहेको समेत बताएको समाचारमा जनाइएको छ ।
भारतीय प्रहरी अधिकारीहरुले लकडाको गिरफ्तारी ठूलो उपलव्धि भएको बताएका छन् र उनीबाट दाउदले गर्ने भारतीय नक्कली नोट कारोबारमा महत्वपूर्ण जानकारी प्राप्त भएको बताएका छन् ।
मुम्बइ प्रहरी अधिकारीहरुका अनुसार एजाज लकडा कुनै समय दाउदका महत्वपूर्ण सदस्य थिए र उनी ड्रग्स तस्करीलगायत महत्वपूर्ण गतिविधिलाई हेर्थे ।




प्रतिक्रिया