काठमाण्डु – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावी मैदानमा उत्रिसकेको बताएका छन् ।
सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकीकरण भएको जानकारी दिए ।
अध्यक्ष घिसिङका अनुसार एकीकरणपछि राष्ट्रिय परिवर्तन पार्टीका केही समानुपातिक उम्मेदवारलाई उज्यालो नेपाल पार्टीका समानुपातिक सूचीमा समावेश गरिएको छ । दुवै पार्टीका समानुपातिक उम्मेदवार राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिह्न ‘बाँसुरी’ अन्तर्गत रहेकाले समानुपातिकतर्फ बाँसुरी चिह्न प्रयोग गरिएको उनले स्पष्ट पारे ।
उनले प्रत्यक्षतर्फ भने उज्यालो नेपाल पार्टीकै चुनाव चिन्ह ‘चिम’ रहने जानकारी दिए । अध्यक्ष घिसिङले मतदातालाई समानुपातिकतर्फ बाँसुरी चिन्हमा र प्रत्यक्षतर्फ चिम चिह्नमा मतदान गर्न आग्रह गरे ।
उनले भने, ‘हामी चुनावी मैदानमा आएका छौं । जसमा हामीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकीकरण गरेका छौं । उहाँहरूको समानुपातिक उम्मेदवारलाई हाम्रो समानुपातिकका साथीहरूलाई केही रिप्लेस गरिएको छ । राष्ट्रिय परिवर्तन पार्टीको चिह्न बाँसुरी चिह्न हो र हाम्रा समानुपातिक उम्मेदवारहरू त्यसमा भएको हुनाले समानुपातिकमा बाँसुरी चिह्नमा मतदान गर्न आह्वान गर्छु । प्रत्यक्षको लागि चुनाव चिह्न ‘चिम’ नै हुन्छ । प्रत्यक्षमा ‘चिम’ चिह्नमा मतदान गर्न आह्वान गर्छु ।’




प्रतिक्रिया